काठमाडौं । नेपाली राष्ट्रिय टिमले वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने भएको छ । वेस्ट इन्डिज र नेपालबीच पहिलोपटक टी–२० अन्तर्राष्ट्रिय श्रृंखला खेलिन लागिएको हो ।
ऐतिहासिक मानिएको यो तीन खेलको श्रृंखला सेप्टेम्बर २७, २८ र ३० मा संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आयोजना हुनेछ ।
क्रिकेट संघ नेपालको आयोजनामा हुने यो श्रृंखला नेपालका लागि पुरुष टी–२० विश्वकप एसिया छनोट प्रतियोगिताअघि महत्वपूर्ण तयारीको अवसर हुनेछ ।
यस श्रृंखलालाई लिएर वेस्ट इन्डिजका प्रमुख कार्यकारी अधिकृत क्रिस डेह्रिङले भने, “यो श्रृंखला केवल खेल मात्र होइन, विश्वभर क्रिकेटको फैलिंदो प्रभाव र एकताको प्रतीक हो । नेपालजस्तो उदाउँदो राष्ट्रलाई समर्थन गर्नु हाम्रो दायित्व हो र यो यात्रामा उनीहरूका साथ उभिन पाउँदा हामी गर्व गर्छौं ।”
पश्चिम इन्डिजले प्रतिस्पर्धात्मक टोली उतार्ने अपेक्षा गरिएको छ । जसले नेपाललाई उच्च स्तरको अनुभव प्रदान गर्नेछ । यसले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफूलाई साबित गर्ने अवसर दिनेछ ।
क्रिकेट वेस्ट इन्डिजले श्रृंखला सफल बनाउन सहयोग गर्ने क्रिकेट संघ नेपाल र इमिरेट्स क्रिकेट बोर्ड लाई धन्यवाद दिएको छ । दुबै बोर्डले आगामी दिनहरूमा क्रिकेटको विकास र पहुँच विस्तारका लागि मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।